काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।
कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए ।
‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, ‘ अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ।
अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘कठिनाइहरुको सामना गरेर देशलाई अगाडि बढाऔं, अर्थतन्त्र अगाडि बढ्यो भने हाम्रो सुविधा पनि बढ्छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताए । उनले सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताए ।