काठमाडौँ । नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधवार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन् । अब गर्व पूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन् ।
पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई बिपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै सङ्घर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उनले उल्लेख गरे । पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुनी नै निर्माण गरेको र सो अनुरूपमा पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ । सदस्यसचिव घिसिङले राज्यलाई पलेशाले मायाको चिनो स्वरूप पदक दिएको र त्यसबापत देशलाई उनलाई यो पुरस्कारबाट सम्मान हुने उल्लेख गरे ।