काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु भएको छ ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५ देखि ३१ गते बसेको पदाधिकारी बैठकले गरेको थियो ।
सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक आजदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने सापकोटाले बताए । बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बताइएको छ । सो बैठक भोलि बिहिबार सम्पन्न हुने छ ।
सापकोटाका अनुसार प्रदेश परामर्श बैठकको तालिका निर्धारण गरिएको छ । जसमा बागमती प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते तथा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्नेछ । त्यसैगरी गण्डकीको भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीको कर्णाली प्रदेशको भदौ १४ र १५ गते बस्नेछ ।
त्यसैगरी लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते बस्नेछ । त्यसैगरी केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते बस्नेछ भने मधेस प्रदेशका भदौ २२ र २३ गते बस्नेछ ।