काठमाडौं । विभिन्न मितिमा हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले १९ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पशुपति, चाबहिल, बानियाटार, बाल्कोट, अनामनगर, सानेपा, नारायणटार, गौरिघाट, नुवाकोट, बौद्ध, बल्खु र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
बुझाइएका २७ ओटा सहित ६१ ओटा सवारी साधन साउन महिनामा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ७ ओटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १० जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।