काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुष ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको खुलेको छ ।
भक्तपुर परिसरका डीएसपी राजन कार्कीका अनुसार करिब ४५ वर्षीय कोइरालाको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । “गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,” गृहमन्त्री लेखकले निर्देशन दिए ।