काठमाडौं । योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
योगेन्द्रसंगै मनोज आचार्य र नेपाल कुराँश संघका कार्यवाहक अध्यक्ष जीवन राई पनि इरान जाँदै छन् । मनोज प्रशिक्षक सेमिनार तथा जीवन एसियाली कुराँशको कोंग्रेसमा सहभागी हुने छन् । दुवै कार्यक्रम प्रतियोगिताकै दौरान हुनेछ । टोली बिहीबार इरान प्रस्थान गर्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले खेलको पहिलो अनुहार खेलाडी हुन् भन्दै कुराँश संघलाई खेलको विस्तार गरी खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताए ।