काठमाडाैं | निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जीएसएम मोबाइल सेवाको अनुमति पत्र नवीकरणका लागि निवेदन दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणलाई सोमबार ४ अर्ब रुपैयाँ बुझाउँदै एनसेलले तेस्रो नवीकरणका लागि किस्ता सुविधा माग गरेको छ ।
अनुमति पत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने कानूनी प्रावधान छ । एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १६ गते सकिँदैछ ।
यस पटकको नवीकरणबाट कम्पनीले आगामी ५ वर्ष अर्थात २०८६ सम्म सेवा सञ्चालन गर्न पाउनेछ ।
पहिलो १० वर्षपश्चात प्रत्येक ५/५ वर्षमा २० अर्ब रुपैयाँ तिरेर अनुमति पत्र नवीकरण गर्नुपर्ने प्रावधान छ ।
यसअधि पनि सरकारले नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरणका लागि किस्तामा सुविधा उपलब्ध गराएको थियो ।
हालै मात्र सरकारले नेपाल टेलिकमबाट तेस्रो नवीकरणको शुल्क पाँच वर्षपश्चात संकलन गरेको थियो । कानूनतः सो शुल्क प्राधिकरणले २०७६ सालमा नै उठाउनु पर्ने थियो ।
किस्ता सुविधाका बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चाँडै निर्णय लिने विश्वास लिइएको कम्पनीले जनाएको छ ।