काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेनै कम्युनिष्ट दलहरुबीच एकताको स्थिति नभएको बताएका छन्। नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा सोमबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा उनले वर्तमान अवस्थामा एकताभन्दा पनि सहकार्यको खाँचो भएको बताएका हुन्।
अध्यक्ष ओलीले भने, ‘अहिल्यै मिल्न थाल्यौं भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔं। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं।’ कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नु दीर्घकालीन नहुने ओलीको भनाइ थियो। उनले अहिले वामपन्थीहरू ठ्याक्कै मिलेर मात्रै अगाडि बढ्ने अवस्था पनि नभएको बताए। विकास र समृद्धिलाई अगाडि बढाउन वामपन्थीहरूमात्र नभएर देशभक्ति शक्तिहरू मिलेर जाने समय भएको उनले बताए।
‘सहमतिका लागि सहकार्यमा जाऊँ। देशभक्त शक्तिहरू, राष्ट्रिय शक्तिका रूपमा काम गर्न जसले मञ्जुर गर्छ त्यस्ता शक्तिहरू, देशको पक्षमा सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा हुनेहरू अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘अनेक प्रकारका साम्प्रदायिक भड्काउने र अविश्वास बढाउने गर्यो भने देश बिथोलिन्छ।’