सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८, बाहार्नाखोलामा शुक्रबार (पुस २५) बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

छेडागाड–८, बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड–९, पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको बोलेरो जीप ‘ब्रेक फेल’ भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा दुईको मृत्यु र चारजना घाइते भएका प्रहरीले जनाएको छ ।
छेडागाड–९, पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
घाइते हुनेमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड–८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नम्बर–९ का ३९ वर्षीय वीरबहादुर रोकाय र दैलेखको नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । छेडागाड नगर अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।













