काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस अन्तिम सातामा गर्ने निर्णय गरेको छ। सोमबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकले नयाँ क्रियाशील सदस्य वितरण प्रक्रिया मंसिर २० गतेसम्म सीमित गर्ने निर्णय गरेको छ। मंसिर २४ गतेभित्र वडासम्म फाराम वितरण गर्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण काम सकाउनु पर्ने बैठकले निर्धारण गरेको महतले बताए।
उजुरी आह्वान तथा छानबिन गरी नयाँसहितको अन्तिम सदस्य सूची पुस १४ गतेभित्र सभापतिलाई बुझाइनेछ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ताको सहभागिता तथा अन्य पार्टीबाट भएका प्रवेशलाई प्राथमिकता दिने निर्णय बैठकले गरेको छ।
त्यस्तै विभिन्न तहका अधिवेशन मिति पनि तोकिएको छ। वडा, गाउँ तथा नगर अधिवेशन पुस १६ र १७ गते; प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते; एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा पुस २२ गते र एकभन्दा बढी क्षेत्रमा पुस २२ कै दिन अधिवेशन हुने महतले बताए। प्रदेश अधिवेशन भने पुस २३ र २४ गते गरिनेछ।












