काठमाडौं — नेपाल पौडी संघले आयोजना गर्दै आएको एनएसए कप पौडी प्रतियोगिताको १३ औं संस्करण आगामी मंसिर २० र २१ गते ललितपुरस्थित सातदोबाटो हिटिङ पौडी पोखरीमा हुने भएको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएको छ।

यस वर्षको प्रतियोगितामा ३१ विभिन्न स्पर्धा समावेश गरिएको छ। कुल १८२ खेलाडीमध्ये १०५ पुरुष र ७७ महिला सहभागी हुनेछन्। देशभरका विद्यालय, स्वीमिङ क्लब तथा तीन विभागीय टिमले प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्।
नेपालमा पौडी खेलको स्तर अभिवृद्धिमा योगदान दिँदै आएको एनएसए कपले खेलाडीहरूलाई क्षमताप्रदर्शन तथा प्रतिस्पर्धात्मक भावना बढाउने अवसर प्रदान गर्दै आएको आयोजकले उल्लेख गरेको छ।

यो वर्षको प्रतियोगिता विद्युतिय गाडी कम्पनी विवाइडी (BYD) को प्रमुख प्रायोजनमा सञ्चालन हुनेछ। काष्ठमण्डप टिभी गोल्ड तथा नेपाल पौडी संघको फेसबुक पेजमार्फत कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा संघ विश्वस्त रहेको छ।












