काठमाडौं । पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनद्वारा दीप प्रज्वलन गरी पूर्व जनमुक्ति सेना नेपालको २५ औँ दिवस आज काठमाडौंको पेरिसडाँडामा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट आएका पूर्व लडाकू, कमान्डर, नेतृत्व तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

कार्यक्रमको संचालन शंकर बोहोराले गरेका थिए भने सुरेशले अध्यक्षता गरेका थिए। कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका कमान्डर सरल सहयात्री पौडेल, युवराज दुलाल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय प्रमुख सचिव तथा पूर्व डिभिजन कमाण्डर गणेश मान पुन हुनुहुन्थ्यो।
१० वर्षे जनयुद्धमा बलिदान तथा योगदान पुर्याएका शहीद, घाइते र बेपत्ता योद्धाहरूको सम्मानमा दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रम जनमुक्ति सेनाको त्याग, समर्पण र बलिदानको प्रतीकात्मक स्मरण रहेको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा घाइते तथा अपाङ्ग पूर्व जनमुक्ति सेनाका लागि ‘अक्षयकोष’ (Permanent Support Fund) औपचारिक रूपमा स्थापना गरिएको घोषणा गरिएको छ। कोषको उद्देश्य उपचार, दीर्घ स्वास्थ्य व्यवस्थापन,पुनर्स्थापना, तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउनु रहेको बताइएको छ।
अक्षयकोषलाई सुदृढ बनाउन सहयोग संकलन अभियान पनि कार्यक्रममै सुरु गरिएको थियो। उपस्थित पूर्व कमान्डर, योद्धा तथा समर्थकहरूबाट रकम र प्रतिवद्धता दुवै संकलन गरिएको आयोजकहरूले जनाएका छन्।
पुनले जनयुद्ध र राजनीतिक रूपान्तरणमा पूर्व जनमुक्ति सेनाको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै घाइते तथा अपाङ्ग पूर्व लडाकूहरूको अवस्था सुधारका लागि राज्य, जिम्मेवार निकाय र समग्र समाजले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
त्यस्तै, २५ औँ दिवसले संगठनात्मक एकता,ऐतिहासिक अभिलेखन,सामाजिक न्याय,र पुनर्स्थापना प्रक्रियालाई अझ मजबुत बनाउने साझा प्रतिवद्धता व्यक्त गरेको प्रमुख अतिथि गणेश मान पुनले बताउनुभयो।


















