काठमाडौं । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले शुक्रबार सूचना जारी गर्दै आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलको सुरक्षालाई ध्यानमा राखी भीड नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी क्यानबाट प्राप्त भएकाले टिकट बिना मैदान परिसरतर्फ जानु नपरोस् भन्ने आग्रह गरिएको हो।
‘आजको सम्पूर्ण टिकटहरू Sold Out भइसकेको भएकाले टिकट नभएकाहरूले टीयू मैदान वरपर भीड नगर्नुहोला,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘सुरक्षा व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्न र खेल सभ्य, मर्यादित तवरले हेर्न सबैमा अनुरोध गर्दछौं।’
प्रहरीले खेलप्रेमीलाई आफूलाई अनुकूल स्थानबाट—टीभी वा डिजिटल प्लेटफर्ममार्फत—खेल हेरेर सहयोग गर्न पनि आग्रह गरेको छ।
यसअघि क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि भीडभाड बढ्न नदिन घरमै बसेर खेल हेर्न आग्रह गरेका थिए।
‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले, टिकट नपाउनुभएकाले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहोला,’ उनले भनेका थिए।
क्यानका अन्य खेलाडी तथा अधिकारीहरूले पनि पास वा विशेष अनुमतिका लागि अनावश्यक अनुरोध नगर्न आग्रह गरेका छन्।












