काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्ने समय पाँच दिन थप्ने तयारी गरेको छ। कात्तिक मसान्तभित्र कार्यतालिका संशोधन गरी दर्ता अवधि थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोग स्रोतले जनाएको छ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत दर्ता गर्ने सुविधा दिएको आयोगले हाल सर्भरमा अत्यधिक चाप परेको कारण प्रणाली सुस्त बनेको जानकारी दिएको छ। अनलाइन प्रणालीमार्फत अहिलेसम्म ३७ हजार नागरिकले नामावली दर्ता गरिसकेका छन्।
यस विषयमा अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले कात्तिक २८ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग भेट गरी म्याद थपका लागि आग्रह गरेकी थिइन्। भण्डारीले आवश्यक समायोजन गरी पाँच दिन दर्ता अवधि थप्न सकिने बताएको कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिए।












