काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएपछि कार्कीले बिहीबारदेखि नै प्रहरी संगठनको कमाण्ड सम्हालेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई ३३औं प्रहरी महानिरीक्षकका रूपमा नियुक्त गरेको थियो।
कार्कीले २०५४ साल चैत १८ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल नभएमा उनी २०८४ साल चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।












