काठमाडौँ । दसैंको ६ दिने सार्वजनिक बिदा अवधिमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले देशभरका शाखा कार्यालय र डिपोहरूलाई आलोपालो खुलाउने निर्णय गरेको छ।

निगमका अनुसार वीरगञ्ज शाखा र दाङ डिपो ४–४ दिन खुल्नेछन्। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालयहरू ३–३ दिन सञ्चालन हुनेछन्। बाँकी शाखा तथा डिपोहरू २ दिन मात्र खुल्ने तालिका तय गरिएको छ।
दीपायल शाखा कार्यालय भने आवश्यकताअनुसार सञ्चालन हुने निगमले जनाएको छ।
बिदाका दिनमा डिपो बन्द हुँदा पेट्रोलियम आपूर्ति सहज बनाउन प्रत्येक डिपोको लागि छुट्टै सम्पर्क व्यक्ति तोकिएको छ। उपभोक्ता वा ढुवानीकर्ताले तोकिएको व्यक्तिसँग सम्पर्क गरेर आवश्यक समयमा इन्धन प्राप्त गर्न सक्ने व्यवस्था निगमले गरेको छ।
निगमका अधिकारीहरूले यस व्यवस्थाले दसैं अवधिमा देशभर पेट्रोलियम पदार्थको अभाव नहुने विश्वास व्यक्त गरेका छन्।












