मुस्ताङ । यस वर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्यांग्रा बाहिर पठाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट १४ हजार ६६८ भेडाच्यांग्रा मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम–कोरला सडकमार्गबाट निकासी गरिएको हो ।
केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार निकासी भएका भेडाच्यांग्रा र रमा (च्यालु) को औसत मूल्यका आधारमा करिब ३५ करोड रुपैयाँको व्यापार भएको अनुमान छ ।
निकासीमध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा डोल्पा, मुगु र जुम्लाका रहेका छन्। यसमा मुस्ताङको हिस्सा मात्रै करिब २० करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।
व्यापारीले किसानकै खोरमा गएर च्यांग्रा छनोट गर्ने गर्छन्। हाल बजार मूल्य च्यांग्राको करिब ३५ हजार, भेडाको २८ हजार र रमा (च्यालु) को १२ हजार रुपैयाँ रहेको छ ।
स्थानीयको भनाइअनुसार वास्तविक निकासी संख्या अझै बढी हुनसक्छ, किनकि परीक्षणका क्रममा च्यांग्रा धनीहरूले पूर्ण विवरण नदिने गरेको पाइएको छ ।












