काठमाडौं । आगामी दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले चाडपर्वमा अपराधका घटना बढ्ने सम्भावना रहने भएकाले यस वर्ष पनि कडाइका साथ रणनीति बनाइएको बताए। “यो पटकको चाडपर्व अरू वर्षभन्दा फरक छ। हामी भवनभन्दा पनि भावनाले काम गर्ने संगठनका सदस्य हौं, त्यसैले नागरिकको सुरक्षामा कुनै कमी हुन दिने छैनौं,” उनले भने ।
कार्कीका अनुसार काठमाडौं उपत्यकामा कुल ६ हजार १०६ प्रहरीलाई नियमित ड्युटीमा खटाइनेछ। बढी भीडभाड हुने क्षेत्र र आर्थिक कारोबार हुने स्थानमा सादा पोसाकका प्रहरी टोली पनि परिचालन गरिनेछ। यात्रुहरूको सहजताका लागि बसपार्कलगायत स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
एसएसपी शेखर खनालका अनुसार, प्रहरी रातिको समयमा पनि अपरेसनमा रहनेछ। जेनजी प्रदर्शनका क्रममा केही प्रहरी भवन र सवारीसाधन जले पनि सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने उनले स्पष्ट पारे ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रहरीको हतियार र भवन जलेका थिए, जसको प्रभाव अहिले पनि देखिएको छ ।












