काठमाडौँ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। संघीय सरकारको निर्णयअनुसार अबदेखि दुबै कार्यालय एकीकृत रुपमा एउटै कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था लागू गरिएको हो।

यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगञ्ज भन्सार कार्यालय पृथक रूपमा सञ्चालनमा थिए। वीरगञ्ज भन्सार मातहतको एकीकृत जाँचचौकी (ICD) मार्फत मालवाहक सवारीबाट वैदेशिक व्यापार सम्बन्धी आयात–निर्यात भइरहँदै आएको थियो। यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेलमार्गमार्फत सामानको आवत–जावत नियमन गर्ने कार्य गर्दै आएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयबमोजिम आजदेखि नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।
भन्सार एकीकरणसँगै अबदेखि सेवा लिने पक्षलाई सुविधा, सहजता र प्रक्रियागत स्पष्टता हुने अपेक्षा गरिएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। अब यो सङ्कलन वीरगञ्ज भन्सारकै वार्षिक आयत–निर्यात विवरणमा समावेश गरिनेछ।












