काठमाडौँ । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो ठगीको अभियोगमा काठमाडौँबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई ठगीसम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको हो । धनुषाका डीएसपी वरुणकुमार सिंहले कुरा गर्दै भने, ‘ठगी कसुरमा उनीविरुद्ध धनुषाका सन्तोष यादवले उजुरी दिनुभएको थियो, सोही उजुरीका आधारमा महतो पक्राउ परेका हुन् ।’
प्रहरीका अनुसार महतोलाई हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। पवन महतोसँगै उनका पिता बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
उजुरीकर्ता सन्तोष यादव र पवन महतो यसअघिका व्यवसायिक साझेदार रहेको र महतो पक्षले एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप यादवले लगाएका छन्। आपराधिक विश्वासघातसमेतको आरोप लगाउँदै यादवले उजुरी दिएपछि महतो पक्राउ परेका हुन् ।