
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घट्नालाई लिएर विभिन्न ३४ वटा खेलकुद संघहरुले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रवार वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव रहेको उसु महासंघले तोडफोड गरेको थियो ।
सनिवार विभिन्न खेलकुद सम्वद्व ३४ संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राज्यको सम्पत्ति तोडफोड गर्नेलाई छानबिन गरि कडा कार्वाही गर्न सरकारलाई अनुरोध गरेको छ ।
`राखेपमा भएको नेपाल ओलम्पिक कमिटिको निर्वाचनको विषयमा विभिन्न मितिमा सम्मानित सर्वोच्च अदालत काठमाण्डौं र उच्च अदालत पाटनबाट गरिएको आदेश समेत पालना नगरी अनलाईन माध्यमबाट नेपालको विद्यमान प्रचलित खेलकुद सम्बन्धि ऐन २०७७ र नियमावली २०७९ समेतको बर्खिलाप निर्वाचन सम्पन्न गरिएको भनिएको निर्वाचनको सम्बन्धमा मा.युवा तथा खेलकुद मन्त्रि श्री तेजुलाल चौधरी ज्यूको अध्यक्षतामा विभिन्न मितिमा सम्पन्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक तथा कार्यकारी समितिको बैठक समेतले निर्णय गरिएको विषयलाई लिएर वार्ता, छलफल तथा सम्वादबाट समस्या समाधान गर्ने वा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै मिति २०८१ माघ २५ गते अपरान्ह अन्दाजी १२:३८ बजे राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवको कार्यकक्षमा केहि अराजक व्यक्तिहरु प्रवेश गरि अभद्र व्यवहार तथा गाली गलौज गर्दै राज्यको सम्पति तोडफोड गरेको घटनाको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरू घोर भर्त्सना गर्दछौं । साथै उक्त घटनाको छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित नेपाल सरकार र सरोकारवालाहरु मा अपिल गर्दछौ,´ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै घटना बाहिरिए लगत्तै शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष र नवराज ढुंगाना विश्वास महासचिव रहेको नेपाल उसु महासंघले भने उक्त घटनाप्रति निन्दा व्यक्त गरेको छ । कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तोडफोडमा सहभागी समूहको महासंघलाई २०८० भदौ १३ गते नै उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

