
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा सोनाम ल्होछार भव्यताको सात मनाएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक पनि आयोजना गरिएको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै तामाङ समुदायले मनाइने ल्होछार महत्वपूर्ण रहेकोे बताए । उनले आफुले सक्ने सहयोग संस्थालाई गर्ने प्रतिवद्वता जनाउँदै सोनाम ल्होछार कार्यक्रमको आयोजना गरिएकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।
तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गरेर कार्यक्रम गरिएको आयोजक संस्थाले बतायो ।
कार्यक्रममा माओवादी मन्थली नगर कमिटी सचिव राम तामाङ,एमाले पुर्व जिल्ला कमिटी सदस्य डम्बर बहादुर बोहोरा, चनखुकै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा तामाङ मौलिक डम्फु नाचको साथमा विभिन्न मौलिक नृत्यहरु देखाइएको थियो ।
चनखुमा २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।
