पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।
प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार दिउँसो सकिएको हो ।
जिल्ला अदालत कास्कीबाट सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जना प्रतिवादीको थुनछेक आदेश आउने भएपछि अदालत आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहीबार सरकारी वकिलको तर्फबाट बहस सकिएर आदेश आउने तयारी भएसँगै अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनथ गरिएको हो ।
प्रतिवादीको तर्फबाट बुधबार नै बहस सकिएपछि जवाफी बहस बुधबार दिउँसो र बिहीबार भएको हो। प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
अब ७ जना प्रतिवादीलाई थुनामा राख्ने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् । रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् । यस्तै रवि पत्नी निकिता पनि सँगै रहेकी छिन् ।