काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ गते हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन हुन लागेको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत म्याराथनको बारेमा जानकारी दियो ।
हाफ म्याराथनमा महिला÷पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ ।
राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार संख्यामा सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा.शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।
पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । पत्रकार सम्मेलनमा पनि उपस्थित धाविका सन्तोषीले खेल क्षेत्रसंग सम्बन्ध नभएको संस्थाले आयोजना गरेको म्याराथन उत्कृष्टमध्ये एक रहेको बताइन् । यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् । धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो म्याराथन विशेष रहेको सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा पाँच किलोटमिटरतर्पm शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्पm महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए । यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।