काठमाडौं । सहकारी अपचलन सम्बन्धी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे ।
दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा मिडियामा आएपछि त्यसलाई खर्च गर्न भने उनी संलग्न देखिएको बताए । सोहीअनुसार कारबाही गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।
समितिको प्रतिवेदन बुझाउनेमा रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालको पनि त्यसमा सहमति रहेको उनको भनाइ छ । “हामीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरू, पीडितहरूको बयान र अनुसन्धानका क्रममा जेजे र जसजसका जति कमजोरी भए, कमजोरीका आधारमा कानुनी कारबाही गर्न सिफारिस गर्ने भन्ने सन्दर्भमा हाम्रो सर्वसम्मति छ,” दाहालले भने, “लामिछानेजीको सहकारीबाट गोर्खा मिडिया प्रालिमा पैसा ल्याउने कुरामा संलग्नता देखिएको छैन । तर, गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता देखिएको छ ।”
समितिले लामिछानेले गरेको गैरकानुनी सेयर किनबेचसहितका कामबाट सहकारीको बचत अपचलन भएको पनि समितिको निष्कर्ष छ ।