काठमाडौं । सत्तारुढ दलहरुले सरकार र संसदलाई प्रभावकारी बनाउन एकढिक्का भएर उभिने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले सत्ताको पक्षमा एकढिक्का भएर उभिने निष्कर्ष निकालेका हुन् ।
‘सरकारको पक्षमा दलहरु एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौ’, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने ।
‘एमाले र हाम्रो बीचमा सात बुँदे भइसकेकै थियो । तर त्यही सात बुँदेलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम बनाउँछौं । यसले सबैलाई एकढिक्का उभ्याउँछ’, उनले भने ।
आइतबार साँझ कांग्रेस र एमालेका नेताहरुको बैठकबाटै न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदल गठन भइसकेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको मस्यौदा समिति गठन भएको छ ।
प्रमुख सचेतक घिमिरेले कार्यदलबाट बन्ने मस्यौदामाथि अरु सत्ता साझेदार दलहरुको धारणा पनि राखिनेछ । तर प्रमुख दल कांग्रेस र एमाले नै भएकाले दुई दलका नेताहरु रहेको मस्यौदा कार्यदल बनेको उनले बताए ।
कार्यदल बनेको भोलिपल्ट, आज सत्तारुढ अरु दलहरु जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरु सहितको बैठक बोलाइएको थियो ।
‘सरकार र संसदलाई प्रभावकारी बनाउन सत्तारुढ दलहरु एकताबद्ध भएर उभिनेबारे छलफल थालेका छौं’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । सरकारको पक्षमा एकढिक्का भएर उभिने निष्कर्षसँग सत्तारुढ नेताहरुको बैठकमा संविधान संशोधनबारे पनि छलफल भएको छ ।
‘संविधान संशोधन गर्ने कुरामा भ्रमहरु छरिएका छन् । दुई दलीय व्यवस्थामा सरकार लाग्यो भन्ने जस्ता भाष्य निर्माण गर्न खोजिएको छ’ प्रमुख सचेतक बर्तौलाले भने, ‘यस्ता भ्रम चिर्नेगरी अगाडि बढ्नेबारे छलफल भएको छ ।’












