काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताए ।
अध्यक्ष नेपालले जनताको समस्या नेताहरुको समस्या भएको समेत बताए । उनले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।
‘अहिले तपाईं हामी जुन पीरमर्कामा छौँ, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशिल छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैसी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ । आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो । अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ । जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ । म प्रधानमन्त्री भएको बेलामा अरुले गरिदेओस् भनेर हुने बेला थिएन । बरु गर्दिन भनेका थिए मलाई । तपाईं नगर्नुस्, म गर्दिन्छु । कतिपय नेताहरुको खुट्टा काँप्न थालेको थियो । मैले खुट्टा काम्नेहरु कामिरहुन् । अघि बढिन्छ भनेर ठूला निर्णय गरेको थिएँ । चाहे त्यो विदेशी संस्थाहरुलाई नेपालबाट विदा गर्नेकुरा होस्, कतिपय मुलुकको बिरुद्धमा लागेका नेताहरुलाई थान्को लगाउने कुरामा होस्, दृढताका साथ गरेको थिएँ । हामीले आवाज उठाउनसक्छौँ, निर्णय गर्न सक्दैनौँ । न्यायपालिकाको काम हामीले गर्नु हुँदैन ,’ उनले भने ।