काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरुलाई केन्द्रिय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
आईतवारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए । उनले जिम्मेवारीअन्तर्गत केही
दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रिय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । उनले बढीमा १० दिनभित्रमा केन्द्रिय कमिटी सदस्यको टुंगो लगाउने बताए ।
उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रिय कमिटीमा भएका सदस्यहरुसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रिय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ ।’
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने बताए ।