काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।













