काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा कैलाली घर भएका ३६ वर्षीय विशाल हमाल, काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी घर भएका ४५ वर्षीय सैलेश कुमार झा छन् ।
विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रुपैयाँ ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख र सैलेशले युके पठाइदिन्छु भनेर १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ ठगेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूलाई कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।