काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा उठाएका सबै विषयमा छानबिन समिति बनाउन माग गरेका छन् । आइतबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।

लामिछानेलाई लक्षित गर्दै थापाले भने,‘तिमीहरू सबै चोर हौ, मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो । उहाँले उठाएका सबै विषयमा छानबिन समिति बनाए हुन्छ ।’
गृहमन्त्री लामिछानेलाई आफूले उठाएका सबै विषयमा धमाधम उठाउन महामन्त्री थापाले आग्रह गरे । उनले भने, ‘मेरो छानबिन गर्छस् भने तेरो पनि फाइल खोल्दिऊँ भनेजस्तो गर्नुभयो,’ उनले भने, ‘धमाधम अनुसन्धान गर्ने हो, गल्ती गरेको रहेछ भने फैसला गराउने हो, कारबाही गर्ने हो ।’
महामन्त्री थापाले आफूबारे उठाएका विषयमा छानबिन गर्न पनि चुनौती दिए । थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो । म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस् । लौ न बनाइदिनुस् ।’












