काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहज रूपमा विश्वासको मत दिने बताएका छन् ।
आइतबार काठमाडौं, लैनचौरमा आयोजित पेसागत महासङ्घको २९औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामी सरकारमा सहभागी छौँ । हाम्रै पार्टीका नेताहरू मन्त्री हुनुहुन्छ । त्यसकारण विश्वासको मत दिने कि नदिने भन्ने कुनै प्रश्नै हुँदैन । शङ्का, उपशङ्का छैन । कुनै इफ वा बट छैन,” उनले भने, “हामी सहज रूपमा विश्वासको मत उपलब्ध गराउँछौँ ।”
प्रधानमन्त्री प्रचण्डले सोमबार सदनबाट विश्वासको मत लिँदैछन् । उनको यो चौथोपटक हो ।