काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन्।
उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए । तीन तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि उनले बताए। स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक संस्थाहरुसँग सहकार्य गरिने सरकारको नीति रहेको उनले उल्लेख गरे।












