रामेछाप । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन एमालेले एकल बहुमत लयाए मात्रै सम्भव रहेको बताएका छन् ।

बुधबार नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए । ‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भने ।
अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको उनले बताए । ‘हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकार विरुद्ध कस्ता षडयन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षडयन्त्रलाई हामी एक एक गरेर तोडेर अघि बढ्ने छौँ, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहने छौँ’, उनले भने ।












