काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत गैरसंवैधानीक रहेको कांग्रेसले बताएको छ ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत सर्वोच्च अदालतको व्याख्या विपरीत भएको बताएका हुन् । आइतबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायिक निरूपणको लागि आफूहरू फेरि सर्वोच्च अदालत जाने बताए ।
उनले भने, ‘हामी दुई लडाइ लड्ने छौँ । राजनीतिक रूपमा पनि हामी लड्ने छौँ भने न्यायिक रूपमा पनि लड्छौँ । आज उहाँहरूले बलजबरजस्ती शैलमा सत्ता कब्जा गर्ने, संसद् कब्जा गर्ने प्रयत्न गर्नुभयो त्यसको नेपाली कांग्रेस भर्त्सना गर्छ ।’
उनका अनुसार सोमबार नै कांग्रेस सर्वोच्च अदालत जानेगरी तयारी भएको छ ।
विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको थियो । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।