२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल वैशाख १२ देखि

काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता  न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेताले चार लाख ९९ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । यसअघिको विजेतालाई तीन लाख, उपविजेतालाइ एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।


यसैगरी सातौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने भएको छ । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेको अध्यक्ष खड्काले जानकारी दिए ।


मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रायोजनसम्बन्धी समझौतामा हस्ताक्षरसमेत गरिएको थियो । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष तया पूर्वअन्तर्राष्ट्रिय खेलाडी भरत शाह, संघका उपाध्यक्ष भीम ओली, कोषाध्यक्ष श्याम श्रेष्ठ, अन्तर्राष्ट्रिय भलिबल रेफ्री पूर्णप्रसाद चौलागाईं र प्रतिष्ठानका पदाधिकारीको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।