सहकारीको सतासी अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७ अर्बमाथि कविता र नारा पनि बनेका छन् ! ८७ अर्ब खानेहरूलाई उन्मुक्ति दिइएको र ६५ करोड़को आरोपमा रवि लामिछानेलाई मात्रै प्रतिशोध साधेर पक्राउ गरिएको दाबी पनि सुन्नुभएकै छ ! दाबीको चाबी हामीसँग नभएकाले सदर या बदरतिर नलागी,
एकछिन यो सतासी अर्बको कुरो कहाँबाट आयो भन्ने बुझ्नतिर लागौँ !
संसदीय छानबिन समितिले सङ्कटग्रस्त सहकारीहरूबाट ८७ अर्बभन्दा बढ़ी रकम अपचलन भएको निष्कर्ष निकाल्दै त्यसमा छानबिन र कारबाहीका निम्ति सरकारलाई सिफारिश गरेको देखिन्छ । उसले वित्तीय विश्लेषण गरेका सीमित सहकारी र सहकारी पीड़ितहरूले समितिसमक्ष गरेको उजुरीका आधारमा ८७ अर्ब बराबर अपचलन भएको निष्कर्ष निक्लिएको हो ।
के तिनलाई साँच्चिकै उन्मुक्ति दिइएको हो त ? के रवि लामिछानेमात्रै समातिएका हुन् त ?
राजनैतिक शक्तिको आडमा ठग र अपराधीहरू जोगिने कुरो नेपालमा सामान्यजस्तै बनेको सत्य हो । सहकारी ठगीमा पनि त्यस्ता उदाहरण भेटिन्छन् । तर, सहकारी ठगी प्रकरणमा अन्यमाथि कारवाही नै नभएको भन्नेचाहिँ होइन ।
रास्वपा सांसद सम्मिलित समितिले दिएको जानकारी अनुसार पनि देशभर २५८ वटा सहकारीमा ठगी भएको उजुरी प्रहरीलाई परेको देखिन्छ । ६६९ जना त पक्राउ परेको जानकारी समितिले नै दिएको छ । पक्राउ पुर्जी जारी भएका १५४० जना फरार रहेको तथ्याङ्क प्रतिवेदनमा छ । उजुरी, पक्राउ र अनुसन्धानपछि १२८ वटा मुद्दा दर्ता भएको रहेछ । यो समितिको रिपोर्ट आउनुअघिको सङ्ख्या हो । अर्थात् छानबिन समिति नबन्दै ६ सय बढ़ी पक्राउ र एक सय बढ़ी मुद्दा दर्ता भएको देखिन्छ । यो ठूलो सङ्ख्या हो र इतिहासकै ठूलो ठगी पनि हो !
चर्चामा रहेको बुटवल सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ् समिति बन्नुअघिदेखि नै कारागारमा छन् । उनले समितिसमक्ष दिएको वयानमा रवि लामिछानेको नाम मुछेका थिए । सुप्रिमकै कयाशियर रोशनी गुरुङ्माथि पनि मुद्दा चल्दै छ । पोखराको सूर्यदर्शनका सञ्चालक कुमार रम्तेल लामो समयदेखि थुनामैं छन् ।
प्रतिवेदनपछि पनि दर्जनौं उजुरी, पक्राउ र मुद्दा दर्ता भएका छन् । राजनैतिक दबाब नभएका या कम भएका केसमा प्रहरीले नियमित रूपमैं उजुरी लिने, पक्राउ गर्ने र मुद्दा दर्ता गर्ने काम गर्छ । स्वयं रवि लामिछाने गृहमन्त्री हुँदा समेत यो क्रम जारी नै देखिन्छ ।
बागलुङ् जिल्लाको एउटा नगरपालिकाका मेयर देव कुमार नेपालीले मात्रै एक अर्ब भन्दा बढ़ी अपचलन गरेर फरार भएका थिए । एमालेका नेतासमेत रहेका उनी केही महिनाअघि मात्रै दिल्लीबाट पक्राउ परेर नेपाल ल्याइएका थिए । उनी हाल थुनामैं छन् ।
एमालेकै सांसद समेत रहेका इच्छाराज तामाङ् जीवी राईपछि दोस्रो ठूलो सहकारी ठगका रूपमा जेलमा छन् । उनकी श्रीमतीसहित परिवारमाथि पनि सङ्गठित अपराध, मनी लन्डरिङ्गको मुद्दा चलिरहेछ । उनको समूहले झन्डै ८ अर्ब रुपियाँ हिनामिना गरेको बताइन्छ । यो कति ठूलो रकम हो भने तामझाम गरेर चीन भ्रमण गएको नेपालले ९ अर्ब अनुदान पाएकोमा गर्व गरेको थियो ।
एमालेको सहकारी विभागकै सचिब रहेका केबी उप्रेती पनि ठगीमैं पक्राउ परेर कारागारमैं छन् ।
कांग्रेस नेता एवं सांसद उम्मेदवार सीबी लामा पनि सहकारी ठगीमा ठूलो नाम हो र उनी पनि कारागारमै छन् ।
पूर्व डिआईजी जस्तो शक्तिशाली पदमा रहेका छविलाल जोशी पनि झन्डै तीन महिनादेखि थुनामैं छन् ।
एमाले कोशी प्रदेश सांसदका छोरा सुमन खनाल पनि गत महिना पक्राउ परेका थिए । पोखराकै प्राइम सहकारी ठगीमा संलग्न एमाले नेता शङ्कर नारायण श्रेष्ठमाथि पनि पक्राउपछि मुद्दा दर्ता छ । राप्रपाकै सांसद पनि पक्राउ पुर्जीपछि फरार छन् ।
यो शृङ्खला सोचेभन्दा लामो छ, दर्दनाक छ ।
के सत्ताधारीलाई बचाएको दाबी झुटो नै हो त ? त्यसो पनि होइन । समितिले कांग्रेस नेता धनराज गुरुङ् र एमाले सांसद ऋषिकेश पोखरेलमाथि थप छानबिन गर्न सिफारिश गरेको थियो । दुबैका श्रीमती सहकारी सञ्चालक रहेको र ती सहकारीमा ठगी भएको देखिन्छ । जसरी गृहमन्त्री हुँदा रवि विरुद्ध प्रहरीले जाहेरी लिएको थिएन, अहिले धनराजविरुद्ध लिने सम्भावना पनि न्यून छ । त्यसमाथि ठगी गर्नेले प्रमाण राखेर ठगी नगर्ने हुनाले प्रहरीलाई सजिलो छैन । भोलि अर्को सरकार आउँदा पक्कै अनुसन्धान होला । धनराज गुरुङ्की श्रीमतीविरुद्ध भने इन्टरपोल मार्फ़त् पक्राउ पुर्जी नै जारी भएको छ ।
समितिले ८७ अर्ब जति अपचलन भएको दाबी पेस गरे पनि यसको दोब्बर बढ़ी अपचलन भएको आशङ्का छ ।
अब हाम्रो विद्यमान् न्यायिक क्षमताले दुई-तीन हजार बढ़ी व्यक्ति र दुई सय जति मुद्दा एकैपल्ट अनुसन्धान र सत्यापन गरेर पीड़ितलाई न्याय र पीड़कलाई सजाय दिन सक्छ या सक्दैन भन्ने गम्भीर प्रश्न छ । एउटा व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरीलाई दुई महिनाभन्दा बढ़ी लाग्ने उदाहरण हेर्दा हजारौँ आरोपीमाथि सशक्त अनुसन्धान होला भन्ने आशा पातलो छ । अझ आरोपितहरूलाई मुद्दा दर्ता गरेपछि थुप्रै चरणको अदालती बहस र फैसलामा बर्सौँ बित्न सक्छ । यस्तोमा बचतकर्ताले ठगिएको रकम फिर्ता पाउने सम्भावना कस्तो होला, त्यो हेर्न बाँकी छ ।
२०७० सालमैं पूर्वन्यायाधीश गौरीशङ्कर कार्कीको नेतृत्वमा सहकारी छानबिन समिति बनेको रहेछ । त्यसले पचास करोड़भन्दा बढ़ी कारोबार गर्ने सहकारीलाई राष्ट्रब्याङ्कमार्फ़त् नियमन गर्ने सुझाव दिएको रहेछ । त्यो कार्यान्वयन भएको भए जीबी राई या इच्छाराज तामाङ्ले यत्रो रकम ठग्न सक्दैनथे । यसको जिम्मा अहिले सरकारमा बस्नेहरूले लिने कि नलिने ? सुको काम नगरी तलब बुझ्ने सहकारी मन्त्रीहरू र कर्मचारीमाथि कारबाही होला कि नहोला ? एउटै मान्छे चार पाँच वटा सहकारीमा अध्यक्ष हुँदा पनि आँखा चिम्लिने, बिना धितो र कागजात अरबौं रुपियाँ कारोबार हुँदा समेत केही नगर्ने, काठमाडौंमा बसेर पोखरादेखि बुटवलसम्म सहकारी खोल्न र अध्यक्ष हुन पाइने, नियमकानुन केही नलाग्ने ! यसमा प्रशासन र नियमन निकायको कत्ति पनि दोष र खोट नहोला त ?
पहिले डिभिजन सहकारी थियो । तीनतीन महिनामा हरेक सहकारीको हिसाबकिताब हेर्थ्यो । अहिले त्यो हटाए । रवि त थुनिएलान् अरे, आखिर सक्नेले लुटेर खान मिल्ने गरी देशभरका सहकारीलाई छाड़ा छोड्ने र मिलेर लुट्नेमाथि केही होला त ? ( यो लेख चर्चित लेखक नारायण गाउँलेको फेसबुकबाट साभार गरिएको हो ।)