काठमाडौं । आजको ‘हाइपर–कनेक्टेड’ संसारमा हरेक ‘स्वाइप’ र ‘क्लिक’को महत्त्व छ । यी ‘स्वाइप’ र ‘क्लिक’मा एउटा नयाँ परिदृश्य देखा परेको छ– ‘रेज बाइटिङ ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले जानाजान मान्छेको भावनालाई उत्तेजित पार्न र प्रयोगकर्तालाई आक्रोशित बनाउन प्रयोग गरिने जुक्ति हो, ‘रेज बाइटिङ ।’ 

उदयीमान अभिनेत्री जेउशा क्रिस्टोफरका लागि ‘रेज बाइटिङ’ टाउको दुखाइ बनेको छ । उनी बारम्बार यसको सिकार भएकी छन् । उनी भन्छिन्, “कन्टेन्ट क्रियटरहरूले निरन्तर मेरो बडी सेमिङ गरिरहन्छन् । इन्टरनेट प्रयोगकर्ताहरू हामी अभिनेता पनि मान्छे हौँ भन्ने बिर्सन्छन् ।”

इन्स्टाग्राम ‘इन्फ्ल्युएन्सर’ ताजमोलाका अुनसार, मान्छेहरू अरूको ध्यान आफूतिर तान्न ‘रेज बाइटिङ’को सहारा लिन्छन् । उनी भन्छन, “हामी सबै कुनै न कुनै रूपमा मान्छेहरूको ध्यान आफूतिर तान्न खोजिरहेका छौँ । रेज बाइटिङ त्यसैको एक हिस्सा हो ।”

‘कन्टेन्ट क्रियटर’ काव्य एसका अनुसार, मान्छेहरू ध्यान आकृष्ट गर्न मात्र नभई सामाजिक सञ्जालमा धेरै भ्युज, कमेन्ट र सेयरमार्फत पैसा कमाउन पनि ‘रेज बाइटिङ’को जुक्ति लगाउँछन् ।

अनलाइन व्यवहारमा विशेषज्ञ मनोवैज्ञानिक डा. श्रद्धा मोहितेका अनुसार, मान्छेहरू स्वाभाविकरूपमा क्रोधप्रति छिटो आर्कषित हुन्छन् । आक्रोशपूर्ण विषयले मान्छेको ध्यान छिटो तान्छ । उनी भन्छिन्, “निरन्तर यस्ता रेज बाइटिङ सामग्री हेर्ने र त्यस्ता गतिविधिमा सामेल हुने मान्छेहरूलाई भावनात्मक थकानको समस्या हुन्छ ।”

सामाजिक सञ्जालको ‘एल्गोरिदम’ले पनि ‘रेज बाइटिङ’लाई बढवा दिन्छ । ‘रेज बाइटिङ’ भएका सामग्रीमा प्रयोगकर्ता धेरै झुम्मिन्छन् (इन्गेजमेन्ट) । प्रयोगकर्ता धेरै झुम्मिएपछि सामाजिक सञ्जालको ‘एल्गोरिदिम’ले यस्ता सामग्री धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउँछ ।

सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रियट’ गरेर गत वर्ष एक लाख ५० हजार अमेरिकी डलर आर्जन गरेकी विन्टा जेसु पनि आफ्ना ‘कन्टेन्ट’मा मान्छेहरूले घृणा फैलाउने कमेन्ट गर्ने गरेको सुनाउँछिन् ।

उनका भिडियोले लाखौँ भ्युज पाउँछन् । ती भ्युज ल्याउने एउटा प्रमुख कारण हो, ‘रेज बाइटिङ’ । २४ वर्षीया विन्टा भन्छिन्, “मेरा हरेक भिडियोले मिलियन भ्युज पाउँछन्, किनभने त्यहाँ घृणात्मक कमेन्ट हुन्छन् ।” 

अनलाइनमा बढ्दै गएको ‘रेज बाइटिङ’को एक हिस्सा हुन्, विन्टा । विन्टाकै उदाहरणबाट थाहा हुन्छ, ‘रेज बाइटिङ’ले ‘इन्गेजमेन्ट’सँगै ‘क्रियटर’ले पाउने पैसा पनि बढाउँछ ।

‘रेज बाइटिङ’ कमेन्टसँगसँगै ‘क्रियटर’हरले पनि प्रयोग गर्छन् । ‘कन्टेन्ट क्रियटर’हरूले मान्छेलाई आक्रोशित बनाउने गरी भिडियो, मिम वा पोस्टहरू गर्ने गर्छन् ।

‘रेज बाइटिङ’ इन्टरनेटको ‘क्लिक बेट’भन्दा फरक शैली हो । ‘क्लिक बेट’मा हेडलाइन वा थम्बनलले पाठक तथा स्रोतालाई आर्कषित गर्न प्रयोग गरिन्छ । तर, ‘रेज बाइटिङ’ भने जानाजान दर्शक/पाठकलाई म्यानिपुलेट गर्न प्रयोग गरिन्छ ।

मार्केटिङ पोडकास्टर आन्द्रेया जोन्स भन्छन्, “सोसियल मिडियामा हामीले बिरालो देख्यौँ भने हामी हो कति राम्रो बिरालो भन्छौँ र स्क्रोल डाउन गर्छौं । तर, कसैले केही अनियमित गरिरहेको देख्यौँ भने हामी रोकिएर कमेन्ट गर्न थाल्छौँ । र, त्यस्तो कमेन्ट अल्गोरिदमले धेरै इगेजमेन्टका रूपमा देखाउँछ ।”

सामाजिक सञ्जालको कुनै सामग्रीमा प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ बढेपछि ‘कन्टेन्ट क्रियटर’ले धेरे पैसा कमाउँछन् । यही पैसाका लोभमा धेरैजसो ‘कन्टेन्ट क्रियटर’हरू ‘रेज बाइटिङ’ सामग्री उत्पादन गर्छन् ।

पछिल्लो समय यस्ता सामग्रीहरू राजीतिक विषयमा बढी आउन थालेका छन् । यस्ता सामग्रीले चुनावमा सबैभन्दा धेरै प्रभाव पार्छन् । यस्ता साम‍ग्रीले मान्छेहरूलाई अनलाइनमा मात्र होइन, अफलाइनमा पनि असर पार्छ ।

“सामाजिक सञ्जालको अल्गोरिदमले आक्रोशलाई सामान्यीकरण गरिरहेको छ । मान्छेहरू यसलाई सामान्यरूपमा लिन थालेका छन्,” सामाजिक मनोवैज्ञानिक डा. विलियम ब्राडी भनछन् ।

मिसिगन विश्वविद्यालयमा सञ्चार र मिडिया विभागकी असिस्टेन्ट प्रोफेसर एरियल हेजल भन्छिन्, “यस्ता सामग्रीले मान्छेहरूलाई समाचारबाट विमुख गराउँछ । पछिल्लो समय संसारभर समाचारबाट विमुख हुने प्रचलन बढिरहेको छ ।”

मेटाका कार्यकारी एडम मोसेरीले अक्टोबर २०२४ मा आक्रोशपूर्ण सामग्रीमा बढी रहेको ‘इन्गेजमेन्ट’लाई नियन्त्रण गर्न काम गरिरहेको बताएका थिए ।

बीबीसी र द साउथ पोस्टबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0