काठमाडौं । तनहुँ जिल्लाको भानु नगरपालिकाले पर्यटन प्रवर्द्धन, विदेशी लगानी आकर्षण, सांस्कृतिक आदानप्रदान र समुदायमा सकारात्मक प्रभाव पार्न उद्यमी तथा सामाजिक अभियन्ता डिएन घिसिङलाई सद्भावना दूत नियुक्त गरेको छ।


नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका माझ मेयर आनन्द राज त्रिपाठीले घिसिङलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गर्दै भानु नगरपालिकाको समृद्धि र विकासका लागि समाजका अगुवा र अभियन्तासँग हातेमालो गर्न पाउदा खुशी महसुस भएको बताए।


सोही अबसरमा मेयर त्रिपाठीले भानु नगरपालिका आसपासका नगर तथा गाउँपालिकाहरूको संजाल गठन गरेर एकीकृत विकास योजना अगाडि बढाएको जानकारी गराउँदै, आगामी वर्षलाई मर्स्याङ्दी करिडोर भ्रमण वर्ष र महोत्सवका रूपमा मनाउने तयारी बारे छलफल र योजना अगाडी बढाएको समेत जनाए।


सद्भावना दूतको रूपमा जिम्मेवारी ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताउँदै डिएन घिसिङले नेपाली भाषा साहित्यका आदिकवि जन्मस्थानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे।उनले अस्ट्रेलियाका केही शहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अघि बढाउने बताउँदै साहित्य, वातावरण, सांस्कृतिक, औद्योगिक, तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सक्रिय रहने बताए।


सदभावना दुत घिसिङले धौलागिरी, माछापुच्छ्रे र लमजुङ हिमालयको प्रत्यक्ष दृश्यावलोकनका लागि भानु नगरलाई पर्यटकहरूको लागि मुख्य गन्तव्य बनाउने सम्भावना औंल्याए।


उनका अनुसार, पदयात्रा र सांस्कृतिक पर्यटनले यस क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझै लोकप्रिय बनाउन बिशेष भुमिका खेल्ने समेत आफ्नो मन्तव्य व्यक्त गरे।


भानु नगरपालिकाका उपमेयर,विज्ञ र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय विकासका विभिन्न योजनाहरू र पर्यटन प्रवर्द्धनका उपायहरूबारे छलफल पनि भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0