
रामेछाप । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले बगाएको खुर्कोट पुलमा बेलिबृज जडानको काम आजदेखि सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिबृज जडानको जिम्मा नेपाली सेनालाई दिएसँगै सेनाले काम अघि बढाएको हो । मन्त्रालयको समन्वयमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) आँफै हैटौडामा पुगेर बेलिबृज खुर्कोट ल्याइएको थियो ।

रामेछाप, दोलखा र ओखलढुंगा जिल्लाको मुख्य नाकाका रुपमा रहेकोे पुल नदिले बगाएसँगै अहिले जनताहरुलाई आवत-जावतमा समस्या परेको छ । त्यसलाई मध्येनजर लगाउँदै सरकारले चाँडै यातयात सञ्चालन गर्नेगरी काम अगाडी बढाइएको उर्जा राज्यमन्त्री कान्छारामले जानकारी दिए ।

नेपाली सेनाको टोलीले आइतबारबाट धमाधम बेलिबृज जडानको काम अघि बढाएको जनाएके छ । सेनाको अनुसार करिब दुई साताभित्र नै बेलिबृज जडान गरेर सञ्चालनमा ल्याइने तयारी छ ।
सेनालाई आवश्यक सहयोग र समन्वयको लागि राज्यमन्त्री कान्छाराम फिल्डमै खटिएका छन् । उनले तत्काल खुर्कोट पुलमा बेलिबृज जडान गरेर यातयात सञ्चालन गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गरेपछी यो प्रक्रिया अगाडी बढाइएको थियो ।
