पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् ।
लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।
सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् ।