File Photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो ।

सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा।आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।

प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् । भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।

तर अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले उठाएका ईपीजी तथा सीमा समस्याका बारेमा त्यहाँ कुनै कुरा राखेनन् । बैठकमा सहभागी एक अधिकारीले भने, ‘यूएनको महासभामा आएका मौकामा भएको साइडलाइन वार्तामा यस्ता इस्युमा कुरा हुँदैन, यी विषयमा कसैले कुरा राखेन । दुई देशको सम्बन्ध, व्यापार तथा कनेक्टिभिटीको बारेमा कुराकानी भएको हो, दुई देशका बिचमा रहेको विभिन्न संयन्त्रणहरुलाई सक्रिय बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’

पाँचौँ पटक प्रधानमन्त्री बनेका ओलीको प्रधानमन्त्री मोदीसँग यो तेस्रो भेटघाट हो । यसअघि दुई पटक प्रधानमन्त्री भएकै बेला भारत भ्रमण गरेर भेटघाट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0