काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।
बुधवार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिएको हाे ।
संघले राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा पुरस्कृत गरिने भएको छ । एक सेकेण्डभन्दा कम समय भएमा पाँच हजार र एक सेकेण्डदेखि तीन सेकेण्ड समय सुधार गर्ने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । तीन सेकेण्डभन्दा माथि राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले २० हजार नगद पुरस्कार प्रदान गरिने संघले उल्लेख गरेको छ । प्रत्येक उमेरसमूह र खुलामा सहभागी खेलाडीमध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही पाँच हजार नगद पुरस्कारको पाउनेछन् । वर्ष उत्कृष्ट एक खेलाडीलाई विशेष पुरुस्कारबाट सम्मानित गरिनेछ ।
यो प्रतियोगिताबाट हंगेरीको बुढापेस्टमा आयोजना हुने वल्र्ड एक्वेटिक्स स्विमिङ च्याम्पियनसिपमा खेल्ने नेपाली खेलाडीको छनोटसमेत गरिने संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।
प्रतियोगीता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा सञ्चालन हुनेछ ।