काठमाडौं । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । शुक्रबार राति भएको के-४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५८ ले हराउँदै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टर फाइनलमा छिरेकी थिइन् । तर, क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

उनी चीनमा भएको १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।

पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भ्एकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ ।

नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0