दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए ।
उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका एक र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिए।
त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत पर्यो । नेकपा माओवादी केन्द्रका ९, राष्टिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हाले। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना सांसद तटस्थ बसे । राप्रपाका एक जना सांसद जानकीप्रसाद यादव मंगलबारको बैठकमा उपस्थित थिएनन् ।
आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ ।