काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको बताएका छन् । उनले लामो समयदेखि द्वन्द्वपीडितहरू न्यायको खोजीमा बसेको भन्दै उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले अब एकअर्कालाई शंका वा आरोपित गर्न उचित नहुने बताए ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारी छनोट र प्रभावशाली कार्य प्रर्णालीप्रति सजग हुन आवश्यक छ । यो प्रक्रियाको सहज अवतरण आयोगको प्रभावकारितामा निर्भर रहने कुरा पनि म यहाँहरूमा निवेदन गर्न चाहन्छु,” उनले भने, “आउनुहोस्, इतिहासले सुम्पेको यो कार्यभार मिलेर पूरा गरौँ । मुलुकलाई अप्ठ्यारो पर्दा सबै राजनीतिक दल एक ठाउँमा उभिएर समाधान दिने नेपालले विशिष्ट शैली अपनाउने गरेको छ । संक्रमणकालीन न्याय निरुपण र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएका छौँ ।”

देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विन्दुमा पुग्दै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0