काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रमेश खरेलले उजुरी दिएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक खरेलले मंगलबार उजुरी दिएका हुन् ।

उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग गरेका छन् ।

“घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा।लि। दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ,” खरेलले भनेका छन्, “रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न सक्ने नै थिएनन् । यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठूलो लगानीको हार्डवेयर कसरी खोले रु यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।”

खरेलले त्यसअघि नै कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी रहेको भन्दै अहिलेसम्ममा पनि उक्त कम्पनी निरन्तर घाटामा देखिएको उल्लेख गरेका छन् । “अहिले त्यो कम्पनी उनका दाई गणेशले चलाउँदै आएका छन् । पछिल्लो समय उनले खोलेको हार्डवेयरले सिमेन्ट रड मात्र बेच्दैन । कमिसनको मोटो रकम पनि व्यवस्थापन गर्छ,” खरेलले दाबी गरेका छन्, “त्यही भएर हुन सक्छ एउटा हार्डवेयरको नाममा १७ वटा बैंक खाता खोलेर एक वर्षमा नै अर्बौको कारोबार गरेको ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0