काठमाडौँ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट गरी तीन जना राज्यमन्त्री नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ।

कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो।

तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

उनीहरूको शपथ शुक्रबार नै हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। तामाङ रामेछाप, विक कपिलवस्तु र चौधरी कैलालीका हुन्।

तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला रामेछाप सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। २०७९ मंसिरमा भएको निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका हुन्।

साथै विक १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य हुन्। उनी पनि सभापति देउवानिकट हुन्। उनी समानुपातिकतर्फबाट सांसद छिन्।

नाउपाका चौधरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। राज्यमन्त्रीहरूलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको मन्त्रिमण्डल अहिले २२ सदस्यीय छ। संविधानले २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0