काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने बताएका छन् । उनले सहमति अनुसार दुई वर्ष पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रसकार बनेर स्थिरताको सन्देश दिने बताएका हन् ।
ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने पनि बताए ।
नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।
“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,” उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”