
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार मन्त्रालयमा पुगेर महासंघको पदाधिकारीले यस अघि मन्त्रायले जारी गरेको शिक्षक सरुवासम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको हो ।

उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग आफुहरुले राखेको अध्यक्ष गुणराज मोक्तानले जानकारी दिए ।

शिक्षा सुधारका लागि भन्दै देशभरका करिब २७ हजार विद्यालय व्यवस्थापन समितिहरूको तर्फबाट ध्यानाकर्षण गराएको उनीहरुको दावी छ ।

महासंघले संसदमा प्रक्रियामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई अभिभावक मैत्री, समुदायमैत्री बनाउँदै विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार र जबाफदेही बनाउने कानुनी प्रबन्ध गरी यथाशक्य संसदबाट पारित गर्नुपर्ने समेत माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले यस विषयमा मन्त्रायमा छलफल गरेर अगाडि बढ्ने बताइन् । उनले वैकल्पिक उपाय सहित सुझाव ल्याएकोमा महासंघलाई धन्यवाद समेत दिइन् ।

महासंघले शिक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई पनि भेट्दै यस विषयमा ध्यानाकर्षण गराएका छन् ।

